चर्चामा

हिउँदमा धुलोले आक्रान्त साँखु-मेलम्ची सडक वर्षासँगै हिलोले बेहाल (भिडियो)

काठमाडौँ – सिन्धुपाल्चोकबाट काठमाडौँ भित्रिने सडक वर्षाका कारण बेहाल भएको छ।

मेलम्ची क्षेत्रबाट उपत्यका प्रवेश गर्ने सबैभन्दा छोटो साँखु फट्केश्वर सडक खण्डको शंखरापुर नगरपालिकाको अन्तिममा करिब डेढ किलोमिटर खण्ड वर्षाका कारण जिर्ण बनेको हो।

काठमाडौँ र सिन्धुपाल्चोकको सीमा क्षेत्रमा पर्ने छाप भञ्ज्याङ खण्ड हिउँदमा धुलोका कारण आक्रान्त बन्यो भने वर्षामा सडक हिलाम्मे हुँदा दैनिक सयौँ यात्रु सास्ती भोग्न बाध्य भएका हुन्।

शंखरापुर–१ को पोखरीचौरसम्म पिच भए पनि काठमाडौँ तर्फको अझै डेढ किलोमिटर खण्ड अलपत्र हुँदा यात्रु हिलोमा फस्न विवस छन्। सहज हुँदा मेलम्चीबाट एक घण्टामै जोरपाटी आइपुगिने भए पनि सवारी साधन हिलोमा फस्दा यात्रा अवधि तीन चार घण्टा पुग्ने गरेको छ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल, मेलम्ची, हेलम्बु र इन्द्रावती गाउँपालिकालायतको उपत्यकासँग जोड्ने लाइफ लाइनका रुपमा रहेको सडकको केही भाग कालोपत्रे हुन नसक्दा बिजोग भएको हो।

उपत्यकालाई मध्य पहाडी राजमार्गसँग जोड्ने र मेलम्ची खानेपानी मुहानसम्म पुग्ने यो सबैभन्दा छोटो बाटो समेत हो।

२०७७ चैतमा डेढ वर्षभित्र काम सम्पन्न गर्ने गरी शर्मा एण्ड आरएनसीएस जेभीले ठेक्का पाए पनि संघीय सरकारकै कारण अझै निर्माण पूरा हुन सकेको छैन। काठमाडौँ तर्फको अन्तिम पाँच किलोमिटरको सडक निर्माण सम्पन्न हुने अवस्थामा पुगे पनि संघीय सरकारले आर्थिक वर्ष २०८०/८१ मा प्रदेशलाई हस्तान्तरण गर्दा सडक निर्माण नै अवरुद्ध हुन पुगेको छ।

© 2025 himlalkhanal.com.np All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१